काठमाडौं
भुकम्पले भत्काएपछि ६ वर्ष लगाएर पुर्ननिर्माण धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । शनिवार लिफ्टबाट २० औं तलामा रहेको बालकोनी पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टि गर्दै पूनर्निमित धरहराको उद्घाटन गर्नु भएको हो ।
नयाँ धरहराको उचाइ जमिनबाट ८३ दशमल ८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहरा आसपासको पार्क तथा अन्य क्षेत्र समेटिएको बृहत टँुडिखेलको निर्माण कार्य बाँकी रहेपनि शनिवार धरहराको उद्घाटन गरिएको हो । धरहरा उदघाटन गरिए पनि सर्वसाधरणका लागि अवलोकन भने खुला गरिने छैन । १९९० साल माघ २ गतेको भूकम्प अघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । २०७२ सालको महाभूकम्पले नौ तले धराहरा भत्किएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ । अहिले नयाँ बनेको धरहरा आधुनिक र भुकम्पप्रतिरोधी छ ।
पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर राखिएको छ । २२ औं तलामा शिवलिंग छ । दुईवटा लिफ्ट रहेको धरहरामा हाललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । धराहरा वरपरको २९ रोपनी क्षेत्रफलमा विस्तारित सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ४८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।