कावासोती ।
कोभिड १९ संक्रमितको उपचारका क्रममा आवश्यक पर्ने अक्सिजन ग्यासको नवलपुरमा अभाव नहोस भन्नकालागि जिल्ला प्रशासन कार्यालय नवलपुरले सक्रियता बढाएको छ । नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र यहाँ निर्माण गरिएका आइसोलेशनहरुमा अक्सिजनको अभाव नहोस भनेर प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी सहितको टोली संक्रिय रुपमा लागि परेको छ । कोभिड संक्रमितहरुमा अक्सिजनको मात्र कम देखीने गर्दा अहिले यसको माग बढेको छ । यसको व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी सहितको टालीले शुक्रबार नवलपुरका गैंडाकोटमा रहेको सिद्धि विनायक अक्सिजन उद्योगको अनुगमन गरेको हो ।
उद्योगबाट अक्सिजनको उत्पादन कति मात्रमा भईरहेको छ । उत्पादन भएका अक्सिजनको वितरण कसरी गरिएको छ भन्ने बारेमा जानकारी लिन र नवलपुरलाई प्राथमिकतामा राखि वितरणको व्यवस्थापन मिलाउन उद्योग अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो । नवलपुरमा आवश्यक पर्ने अक्सिजनको अभाव नहोस भनेर आफुहरु समन्वयमा लागिरहेको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताउनुभयो । खाली सिलिन्डरकाे अभाव हुने भन्दै उहाँले अक्सिजन सिलिन्डर खाली हुने बित्तिकै यसै नराखी भर्न पठाउन समेत सबैमा आग्रह गर्नुभयो । गैंडाकोटको उद्योगको अनुगमनका क्रममा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको समेत सहभागिता रहेको थियो । पश्चिम नवलपरासीमा एउटा पनि अक्सिजन उद्योग नरहेको र यहाँ संचालित अस्पतालहरुमा अक्सिजनको आपूर्तीका लागि पहल भईरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री शंकर पोख्रेलले समेत अक्सिजन व्यवस्थापनकालागि समन्वय गर्न भनेपछी नवलपुर संग समन्वय गरिएको उहाँले बताउनुभयो । पश्चिम नवलपरासीमा रुपन्देही र नवलपुरबाट अक्सिजनको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । नवलपुरमा रहेको एक मात्रै अक्सिजन उद्योग अहिल २४ सै घण्टा सञ्चालनमा रहेको छ । उद्योगले अहिले दैनिक चार सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको सिद्धि विनाएक अक्सिजन उद्योगका म्यानेजर किरण कुमार कुवँरले बताउनुभयो । कोभिड महामारी अघि उद्योगले तीन सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरेको र स्टक समेत रहने गरेको उहाँले बताउनुभयो । उद्योगमा अहिले उत्पादन भएका अक्सिजन नलपुर सहित चितवनका अस्पतालहरुमा लैजाने गरेको उहाँले बताउनुभयो ।
उत्पादन गरिएको अक्सिजनको सहि बितरण होस र उद्योगको सूरक्षाकालागि समेत जिल्ला प्रहरी कार्यालय नवलपुर मार्फत ७ जना प्रहरी टोली खटाईएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताउनुभयो । यता नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा शुक्रबार साँभ सम्ममा २४ जना कोरोना सक्रमितको उपचार भईरहेको अस्पतालका मे.सु. डा.बिर बहादुर थापाले बताउनुभयो । शंकास्पद १० जना अन्य विरामीलाई समेत अक्सिजन दिएर राखिएको उहाँले बताउनुभयो । अस्पतालमा शुक्रबार साँझ सम्म ७ वटा अक्सिजन सिलिन्डर मौज्दात रहेको र आवश्यकता अनुसार पूर्तीगर्नकालागि प्रशासनसंग समन्वय भईरहेको उहाँले बताउनुभयो । अस्पतालमा अक्सिजन आपूर्ती गर्दै आएका डिपोहरुले अहिले अक्सिजन उपलब्ध गराउन नसकेपछी प्रशासनसंगको समन्वयमा गैंडाकोटको सिद्धिविनायक बाट आपूर्तीको व्यवस्था भएको उहाँले बताउनुभयो ।