कावासोती । विपद व्यवस्थापन सहयोगी समिति नवलपुरले जिल्लाका बिभिन्न स्थानबाट ३२ वटा अक्सिजन सिलिन्डर संकलन गरेको छ । शुक्रबार सम्म यो संख्यामा अक्सिजन सिलिन्डर संकलन गरिएको समितिका सचिव आनन्द श्रेष्ठले बताउनुभयो । कोभिड १९ को महामारीको समयमा संक्रमितहरुलाई अक्सिजन सहित उपचार गर्नुपर्ने अवस्थामा सिलिन्डरको अभाव नहोस भनेर अहिले समितिले जिल्लाका बिभिन्न स्थानबाट सिलिन्डर संकलन गरिरहेको सचिव श्रेष्ठले बताउनुभयो । कावासोती, चोरमारा , दुम्किवास लगाएतका क्षेत्रबाट अक्सिजन सिलिन्डरहरु संकलन गरिएको हो ।
शुक्रबार समितिका अध्यक्ष शिव गिरी सहित , सचिव आनन्द श्रेष्ठ, कोषाध्यक्ष नारायण न्यौपाने, भिमलाल अधिकारी , वेद प्रसाद न्यौपाने, बावुराम कडेंल, लक्ष्मिकान्त रिमाल सहितको टोलीले विभिन्न स्थानबाट अक्सिजन सिलिन्डर संकलन गरेको हो । साथै अभियानमा सहयोग पुर्याउने सहयोगीहरुबाट सहयोग रकम, समेत प्राप्त भईरहेको सचिव श्रेष्ठले बताउनुभयो । शुक्रबार भिमलाल अधिकारीबाट १० हजार, दाउन्नेदेवी आयल सप्लायर्सबाट ५ हजार ५५५, श्री आयल सप्लायर्स अरुणखोलाबाट ५ हजार , भागरा इन्टरप्राइजेज चोरमाराबाट ५ हजार , प्याब्सन नवलपुरबाट ५० हजार प्राप्त भएको कोषाध्यक्ष नारायण न्यौपानेले बताउनुभयो । सहयोग रकम संकलनको क्रम जारी रहेको कोषाध्यक्ष न्यौपानेले बताउनुभयो ।
संकलित सहयोग रकम अक्सिजन व्यवस्थापनमा खर्च गरिने उहाँले बताउनुभयो । यो अभियानमा अन्य सहयोगी दाताहरुलाई सहयोग गर्न समेत उहाँले आग्रह गर्नु भएको छ । समिती मार्फत अक्सिजनको व्यवस्थापनका लागि निरन्तर काम भइरहेको समितिका अध्यक्ष शिव गिरीले बताउनुभयो । संकलित अक्सिजन सिलिन्डरहरु आवश्यकता अनुसार जिल्लाका अस्पतालहरुमा वितरण गरिने अध्यक्ष गिरीले बताउनुभयो ।