गैँडाकोट, जेठ १० ।
देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर गैँडाकोट १ नवलपुरमा एक वर्षभित्रै केवलकार निर्माण हुने भएको छ । केवलकार निर्माणका लागि आजबाट रुख कटानको काम सुरु भएको हो । नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाको सभापतित्वमा भएको एक कार्यक्रमकावीच रुख कटानको थालनी गरिएको छ ।
केवलकार निर्माणको काम सुरु भएको बताउँदै नगरप्रमुख छत्रराज पौडेलले जिल्लाकै गौरवको आयोजना आफ्नो नगरमा हुनु खुशीको विषय भएको बताउनुभयो । निर्माण सम्पन्न गर्न नगरवाट पूर्ण सहयोग हुने भन्दै यसले स्थानीयको आयआर्जनमा परिवर्तन ल्याउनुका साथै रोजगारीको अवसर र नगरको विकासमा ठूलो टेवा मिल्ने बताउनुभयो । साथै मन्दिरको विकाससँगै पर्यटन प्रवद्र्धनमा कोशेढुँगा सावित हुने पौडेलको दावी छ ।
उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सहित निर्माण कम्पनी मौलाकालि केवलकार प्रालि परिवार, निजी क्षेत्र,धार्मिक सेवा समिति, सामुदायिक वन देखि स्थानीयप्रति नगरप्रमुख पौडेलले आभार व्यक्त गर्नुभयो । स्थानीयको पनि लागत साझेदारी हुने भएकाले यसले आयोजनाप्रति स्थानीयको अपनत्व बढाउने पौडेलको भनाई थियो । उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालि केवलकार निर्माण प्रालिले निर्माणको जिम्मा लिएको छ । कम्पनीका प्रोजेक्ट म्यानेजर गोकुल साउदले एकवर्षभित्र केवलकार निर्माण सम्पन्न गरी संचालनमा ल्याउने दावी गर्नुभयो ।
साना ठूला गरी १ हजार ३८ वटा रुखहरु काटिने बताउँदै ठूला भन्दा पनि पोल साइजका रुख भएको र जेठ मसान्तसम्म कटानको कार्य सकाएर कन्स्ट्रक्सन सुरु गर्ने जानकारी दिनुभयो । चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरेकै अष्ट्रेलियन कम्पनीले काम सुरु गर्ने बताउँदै निर्माण कम्पनीसँग चाँडै डिजाइन फाइनल गरी फिल्डमै उत्रने उहाँको भनाई छ ।
गैँडाकोट १ धारापानीमा चढ्नेगरी स्टेशन रहने र ओर्लने स्टेशन मन्दिर नजिक रहेको हेलिप्याड तोकिएको छ । दुई वटा स्नेशन रहने केवलकारको लम्वाई १२ सय मिटर रहेको छ । ६ वटा टावर रहने केवलकारमा १२ वटा डब्बा हुने र एउटा डब्बामा ८ जना अट्ने साउदले बताउनुभयो । दैनिक ६ हजार यात्रु आवतजावत गराउने सक्ने क्षमता रहने छ । “धेरै संरचना निर्माण गर्नुनपर्ने भएकाले पनि एक वर्षमै काम सक्नेछौँ,” साउदले भन्नुभयो । ५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्ब लागतमा केवलकार निर्माण हुने बताइएको छ । समय अनुसार लागत बढ्नपनि सक्ने साउदको भनाई छ । “आयोजनाप्रति अपनत्व हुने आशाले स्थानीयको पनि लगानी राखेका छौँ” साउदले भन्नुभयो ।
मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकाटोले पैदल नै मन्दिर जाँदा राम्रो हुने भएपनि समयको माग अनुसार केवलकार निर्माणको सुझाव आएपछि अनुमति दिएको बताउनुभयो । धेरै निर्माण कम्पनी आएपनि चन्द्र ढकालको कम्पनीसँग मात्रै सामाजिक हित सहितको सहमति बनेपछि निर्माण अनुमति दिएको बताउनुभयो । योग्यता र क्षमताको आधारमा स्थानीयलाई रोजागारी दिनेदेखि एउटा समिति बनेर थप काम गर्ने सहमति भएर मन्दिरको ३४ औँ साधारणसभाले निर्माण अनुमति दिएको बताउनुभयो ।
सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सूर्य सिह गुरुङले रुख कटान गर्दा ध्यान दिनुपर्ने कुरामा प्रशिक्षण दिनुभएको थियो। साथै रुख कटान गरिएको नजिकै वृक्षारोपणको ठाउँ उपलब्ध गराउन आग्रह गर्नुभयो । वृक्षारोपण निर्माण कम्पनीले गर्ने पनि सहमति भएको छ ।
वडाअध्यक्ष हरिप्रसाद सापकोटाले लामो समयको संघर्षपछि केवलकार निर्माणले साकार पाएको भन्दै यो वडाको पनि गौरव भएको बताउनुभयो । जनप्रतिनिधिको हैसियतले निरन्तर अनुगमन गर्ने र आवश्यक सहयोग हुने बताउनुभयो ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमृत भट्टचनले निजी क्षेत्र नाफामूलक मात्रै नभई समुदायको विकासमा ठूलो काम गरेको छ भन्ने उदाहरण यो भएको भन्दै यसले पर्यटन प्रवद्र्धनका साथै विकास र रोजगारीका अवसर बढाउने बताउनुभयो । पवित्र स्थलमा पवित्र काम भएको उहाँको भनाई थियो।
मौलाकालि सामुदायिक वनका अध्यक्ष काशिनाथ कडेँलले केवलकार निर्माणको चरण र निर्माणपछि हुने फाहोरमैला व्यवस्थापनमा विशेष ध्यान आग्रह गर्दै भएको सहमति काार्यन्वयनमा कमी हुन नहुनेमा सचेत गराउनुभयो। साथै गैँडाकावासीले केवलकार चढेर आउदा जादा हुनुपर्ने सहुलियत देखि रोजगार लगायत सहमति सम्झौताका कुरालाई मनैदेखि मनन गरेर स्थानीयवासीहरुसँग सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो ।
मौलाकालिका मन्दिर व्यवस्थापन समितिका सचिव सुरेन्द्र रेग्मीले सहजीकरण गर्नुभएको कार्यक्रममा धारापानी खानेपानी संस्थाका अध्यक्ष लगायत समाजसेवीहरुको पनि उपस्थिती रहेको थियो । कोरोना महामारीका वीच छोटो कार्यक्रम गरी कटानको थालनी भएको थियो ।