
चोरमारा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा कावासोती नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्यन्न र आवासको अधिकार सम्बन्धी अन्र्तक्रिया कार्यक्रम भएको छ ।
नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था, यसको सवालको बिषयमा कार्यक्रममा अन्र्तक्रिया भएको थियो । सुरुवातमा मानव अधिकार समुह कावासोतीका सदस्य दयाराम आचार्यले यस अगाडी कावासोती नगरपालिकामा आयोजित विभिन्न कार्यक्रमहरुबाट पहिचान गरिएको सवालहरुबारे जानकारी गराउनु भएको थियो । शिक्षामा निशुल्क शिक्षाको कार्यान्वयन, अपाङ्गमैत्री भौतिक संरचना, कुलतमा लाग्ने तथा विद्यालय छाड्ने विद्यार्थीको संख्या, अव्यवस्थीत विद्यालयका शैचालयलाई सवालको रुपमा पहिचान गरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्यमा निःशुल्क उपलब्ध हुनुपर्ने औषधीको उपलब्धता, स्वास्थ्य चौकीमा ल्याब र भौतिक संरचना, सबै नागरिकलाई सरकारी स्वास्थ्य संस्थाको बारेमा जानकारीको अवस्था, स्वास्थ्य बिमा कार्यक्रमको फितलो कार्यान्वयलाइृ सवालको रुपमा पहिचान गरिएको उहाँले बताउनुभयो ।
यस्तै खाद्य अधिकारमा बजारको नियमित अनुगमन हुन नसक्नु, बिषाधि युक्त खाद्य उत्पादनको निर्वाध बिक्रि वितरण हुनु र आवासको अधिकारमा भूमि सम्बन्धी आयोग खारेजीको कारण भएको अन्यौलतालाई सबलाको रुपमा पहिचान गरिएको उहाँले बताउनुभयो ।

पहिचान गरिएका सवाल सहित नगरपालिका तथा सम्बन्धित शाखा मार्फत भइरहेको कार्यबारे शाखागत रुपमा कर्मचारीहरुले जानकारी गराउनु भएको थियो । सो क्रममा स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले स्वास्थ्य क्षेत्रमा कोभिड–१९ को कारण सृजित अवस्थाको कारण केही अन्यौलता पूर्ण अवस्था आएपनि यो बीचमा भौतिक रुपमा पूर्वधार निर्माणमा उपलब्धी हासिल भएको बताउनुभयो । उहाँले स्वास्थ्य चौकीमा नेपाल सरकारले निशुल्क वितरण गर्ने औषधीको आवश्यकता अनुसार उपलब्धताको व्यवस्था मिलाएको बताउनुभयो । स्वास्थ्य चौकी तथा केन्द्रहरुमा सेवाग्राहीलाई आर्कषित बनाउन जनप्रतिनिधि सहित सबै सरोकारवालाहरुले समेत भूमिका निभाउन उहाँले आग्रह गर्नुभयो ।
यस्तै नगर शिक्षा अधिकृत राजन पाण्डेले विद्यालयमा कायम न्यून शिक्षक दरबन्दीको कारण विद्यालयहरुले शुल्कहरु लिने गरेको बास्तविकता कसैबाट नलुकेको भन्दै निःशुल्क शिक्षा कार्यान्वयनको लागि शिक्षामा हुने लगानी बृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा बनेका भौतिक संरचनाहरु अपाङ्गमैत्री नरहेपनि अहिले बन्ने गरेका भवनमा सम्पूर्ण मापदण्डको पालना भएको बताउनुभयो । सामुदायिक विद्यालयमा विद्यार्थीको बढ्दो आकर्षणलाई व्यवस्थित गर्न शिक्षक दरबन्दीको बृद्धि, समयानुकल भौतिक संरचना तथा यातायातको व्यवस्थापनमा समेत सबैले चासो दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपभोक्ता हकहित संरक्षण मञ्च कावासोतीका अध्यक्ष डोरमान गिरीले सम्बन्धित निकायले समय समयमा गर्नुपर्ने बजार अनुगमन नियमित नगर्दा उपभोक्ताहरु मारमा परेको भन्दै बजार अनुगमनलाई नियमित गराउनुपर्ने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डेले मानव सभ्यताको बिकाससंगै मानिसले खाद्यन्नको रुपमा वन पैदवारहरुलाई लिने गरेको भन्दै वन स्वास्थ्य र खाद्यसंग प्रत्यक्ष सम्बन्धित भएको भन्दै सबै पक्षको सहभागिता मुलक योजनाबाट विद्यमान समस्या समाधान गर्न सकिने बताउनुभयो ।
कावासोती नगरपालिका–४ का वडा अध्यक्ष रमाकान्त चापागाईंले दरबन्दी अनुसारको शिक्षकको व्यवस्थापनले मात्रै निःशुल्क शिक्षाको कार्यान्वयन हुन सक्ने बताउनुभयो । सबै वडामा कावासोती नगरपालिकाले स्वास्थ्य सेवा पु¥याएको भन्दै सेवाग्राहीलाई सरकारी स्वास्थ्य संस्थामा पुग्ने वातावरण बनाउन आवश्यक रहेकोमा उहाँको जोड थियो । यस्तै उहाँले कावासोती नगरपालिकामा भूमि सम्बन्धि आयोग मार्फत जग्गाधनि पुर्जा वितरणको अन्तिम तयारी भएको अवस्थामा आयोगको खारेजिले आम जनतामा अन्यौलता थपेको भन्दै भूमिहिन सुकुम्बासीहरुलाई भूमीको स्वमित्व दिने बिषयमा सबै जना एकबद्ध हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
मानव अधिकार समुह कावासोतीका सदस्य पवित्रा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहजकर्ता गंगा विश्वकर्माले सहजिकरण गर्नुभएको थियो ।