चितवन १५ कार्तिक । चितवनको रत्ननगर नगरपालिकाले बेमौसमी बर्षाबाट पीडित बनेका किसानहरुलाई राहत वितरण गरेको छ । नगरपालिकाका मेयर नारायण वनले किसानको खेतमै पुगेर घोषणा गरेको १० दिनमै नगरपालिकाले किसानलाई राहत वितरण गरेको हो । सम्भबत रत्ननगर धान पीडित किसानलाई राहत उपलब्ध गराउने नेपालमै पहिलो पालिका हो । असोज २९,३० र ३१ गते तीन दिन सम्म परेको बेमौसमी बर्षाले किसानको भित्र्याउने बेला भएको धानमा क्षति गरेको थियो । सो नगरपालिकाले वडा नं १ बाट राहत वितरण सुरु गरेको हो । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा मेयर नारायण वनले सो वडाका किसान ब्रमा चौधरीलाई राहत रकम हस्तान्तरण गरेर वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन । रत्ननगरमा एउटै किसानको दुई कठ्ठा देखि साढे पाँच कठ्ठा सम्मको धानमा क्षति पुगेको छ । मेयर वनले वडा नं १ का एक दर्जन किसानहरुलाई उद्घाटनका अबसरमा राहत रकम हस्तान्तरण गरेका छन् । सो वडाका रसिर मिँयाले १८ हजार,ब्रम चौधरीले ६ हजार ५०० राहत रकम पाएका छन् । बेमौसमी बर्षाले १६ वटा वडामा २ हजार किसानको ९०० विघा धान खेती पूर्ण रुपमा क्षति भएको छ । प्रतिविघा १० हजारको दरले ९० लाख रुपैया राहत स्वरुप वितरण हुने कृषि शाखा प्रमुख प्रविण लामाले जानकारी दिए । धान काटेर निइन लगाएको र पानीले भिजेको धानको मात्र राहत प्रदान गरिएको उनले बताए । सबै भन्दा धेरै वडा नं ५ टरौलीका किसान चामुनारायण चौधरीको साढे ५ विघा क्षेत्रफलमा लगाएको धान खेती कुहिएर नष्ट भएको छ । उनले मंगलवार वडा कार्यालयबाट ५५ हजार रुपैया राहत रकम पाउदैछन् । सोमबार राहत रकम वितरण कार्यको शुभारम्भ गरेको सो नगरपालिकाले प्रत्येक वडाबाट किसानलाई राहत रकम वितरण गर्ने छ । कार्यक्रममा मेयर वनले धान कुहिएर किसानको आँखामा आसु देख्न नसकेर आफुले राहत दिने घोषणा गरेको र तत्कालै रकम उपलब्ध गराएको बताए । त्यो दर्दनाक दृश्य हेर्ने सकिन उनले भने यस्तो अबस्थामा काम नलागेको सरकार कहिले लाग्ने भन्ने लागेर राहत प्रदान गरेको हु ।
उनले पानीले भिजेको धान र पराल सुकाउन लाग्ने खर्च मात्र आफुले राहतको रुपमा उपलब्ध गराएको बताए । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बजेट अभाव हुँदाहुँदै पनि मेयर सावको किसानप्रतिको चिन्ता देखेर बजेट व्यवस्थापन गरिएको बताए । किसानलाई वितरण गरिएको रकम कुन शिर्षकमा मिलाउने हो त्यो हामीलाई सकस पर्छ उनले भने तर पनि मेयर सावले घोषणा गरेको विषयलाई हामीले इन्कार गर्न सकिएन ।