तिहार आजदेखि शुरु ,भाइटीकाको साइत ११ बजेर २ मिनेटमा

शिक्षा

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ ।

मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।

भोलि  काग तिहारको दिन विहान कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइन्छ। वैदिक मान्यता अनुसार कागलाई सन्देश वाहकका रुपमा मान्ने गरिन्छ।

योे दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ।

कात्तिक १७ गते नै कुकुर तिहार पनि परेको छ । यो दिन सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ ।

कुकुर तिहारको दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ ।

प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ।

कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो। यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ।

त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको सुरक्षा निकायको भनाइ छ। कुकुर इमान्दार र वफादार जनावर पनि हो। घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ।

कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन्। सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ। यो दिन मासको पात खाने चलन छ।

यो दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ ।

त्यसैगरी कात्तिक १८ गते औंशी अर्थात लक्ष्मी पुजा परेको छ । लक्ष्मी पूजाको दिन देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिन्छ ।

लक्ष्मी पूजाको दिन घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ, घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ।

लक्ष्मीपूजाको दिन साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ ।

दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ ।

लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि यही दिनबाट घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ ।

त्यसैगरी कात्तिक १९ गते गोबद्र्धन पुजा परेको छ । कात्तिक १९ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा गर्ने गरिन्छ । यही दिन नेपाल संवत् ११४२ पनि शुरु हुँदै छ । यो दिन नेवार समुदायले साँझ म्हपूजा अर्थात् आत्मपूजा गर्ने गर्दछन्।

त्यसैगरी कात्तिक २० गते तिहारको मुख्य दिन भाईटीका परेको छ। तिहारको अन्तिम दिन कात्तिक कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाइन्छ।

तिहारको मुख्य दिन भाईटिकामा दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइने प्रचलन रहेको छ। यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन्।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिन्छन्।

दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ।

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको  जानकारी दिए।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर