काठमाण्डौ
नेपाल आयल निगमले गएको ८ महिनामा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । असार ३१ गते भने एकपटक मूल्य घटाएको थियो । गएको चैत ४ गते यता ११ पटक मूल्य हेरफेर गरेकोमा १० पटक मूल्य वृद्धि गरेको हो । चैत यता पेट्रोलमा पटक–पटक गरि २० रुपैयाँ सम्म मूल्य वृद्धि गरेको हो ।
नेपाल आयल निगमले अझै मूल्य बढ्ने बताएको छ । निगमका सह प्रवक्ता पुस्कर कार्कीले अहिले पनि मूल्य समायोजन पछिपनि निगमलाई पेट्रोलमा प्रति लिटर १७ रुपैयाँसम्म घाटा रहेको बताउनुभयो । उहाँले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको जनाउँदै निगमको घाटा पूर्ती गर्न आगामी दिनमा पनि मूल्य वृद्धि गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । यसअघि निगमले गएको कात्तिक १३ गते मात्रै इन्धनको मूल्य बढाएको थियो ।
चारआली, विराटनगर, धनुषा, विरगंज, अमलेखगंज, भलबारी, नेपालगंज, धनगढीमा चैत ४ गते ११६ रुपैयाँ ५० पैसा, चैत २३ गते ११८ रुपैयाँ ५० पैसा, बैशाख ५ गते ११९ रुपैयाँ ५० पैसा, जेठ ३ गते १२१ रुपैयाँ ५० पैसा, जेठ २३ गते १२३ रुपैयाँ ५० पैसा, असार १० गते १२५ रुपैयाँ ५० पैसा, असार २३ गते १२७ रुपैयाँ ५० पैसा, असार ३१ गते १२६ रुपैयाँ ५० पैसा, भदौ ८ गते १२८ रुपैयाँ ५० पैसा, कार्तिक १३ गते १३१ रुपैयाँ ५० पैसा तोकिएको थियो । दुरीका हिसाबले अन्य स्थानमा १÷२ रुपैयाँ तलमाथी रहेको छ ।
मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजल÷मट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनको नयाँ मूल्य एक सय नौ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर आठ सय ९५ अमेरिकी डलर पुगेको छ ।