ज्ञानु पंगेनी, कावासोती
नवलपुरको कावासोती नगरपालिकामा रहेका औषधी पसलको छड्के अनुगमन गरिएको छ ।जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको संयोजकत्वमा भएको अनुगमनमा कावासोती ८ मा रहेको अमृत मेडिकल हल र लुम्बिनी फार्मेसीमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । अमृत मेडिकलले औषधी पसल सञ्चालनको अनुमती लिएर क्लिनीक सञ्चालन गरेको पाईएको घिमिरेले बताउनुभयो ।
यस्तै २४ सै घण्टा डाक्टर हुनुपर्नेमा नभएको , सामान्य सल्यक्रियाका लागि आवश्यक सामाग्रीहरु निसंक्रमित गर्ने सामाग्री नभएको , डाक्टरहरुसंग आवश्यक सम्झौता लगायतका कागजात समेत नभएको , मापदण्ड विपरित क्लिनीक सञ्चालन गरेको , सरसफाई नभएको , म्याद नाघेका औषधी समेत राखेको पाईएकाले त्यसलाई तत्काल सच्चाउन निर्देशन गरिएको घिमिरेले जानकारी दिनुभयो । तत्कालका लागि मापदण्ड विपरित सञ्चालन भएका स्वास्थ्य संस्थालाई नियमभित्र आउनका लागि अनुरोध गरिएको र अटेर गरे नियम अनुसार कारवाही गरिने प्रजिअ घिमिरेले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यलय, जिल्ला स्वास्थ्य कार्यलय, जिल्ला अस्पताल, घरेलु तथा साना उद्योग कार्यलय, कावासोती नगरपालिका र उद्योग बाणिज्य संघको प्रतिनिधिको रोहबरमा अनुगमन भएको हो । प्रजिअ घिमिरेले जिल्लामा सञ्चालित सबै स्वास्थ्य संस्थाहरुलाई मापदण्डभित्र सञ्चालन गर्न आग्रह गर्दै नियमित रुपमा अनुगमनका काम प्रशासनले गर्ने जानकारी दिनुभयो ।