नवलपुर ।
नारायणी नदीले वर्खाको समय पुर्याउन सक्ने सम्भावित क्षती हुने स्थानहरुको अवलोकन गरिएको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको नेतृत्वमा चितवन र नवलपुरका प्रशासनले संयुक्त अवलोकन गरेका हुन् । नगरप्रमुख छत्रराज पौडेल, गैँडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँल, नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जन, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी सहितको टोलीले आज नारायणी नदीको फिल्ड अवलोकन गरी क्षती हुन सक्ने ठाउँमा समयमै सचेत हुने बताएका हुन् ।
नारायणी नदीले वर्खाको समय वर्षेनीजस्तै समस्यामा पार्ने र वस्तीनै डुवानमा पर्ने भन्दै स्थानीयले गुनासो गरेपछि गैँडाकोट र भरतपुरतर्फ गरी दुवै ठाउँमा अवलोकन गरिएको छ । अवलोकन पछि बोल्दै नगरप्रमुख छत्रराज पौडेलले चितवनतर्फ धेरै ठाउँमा तटवन्ध भएको र गैँडाकोटको ७ र ९ नम्वर वडातर्फ बढी क्षती हुन सक्ने भन्दै तटवन्धनको काम सुरु गर्न संघीय सरकारलाई अनुरोध गर्ने बताउनुभयो । अवलोकन गर्दै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सवै जनताको जिउ धन जोगाउने दायित्व राज्यको भएकाले सोही अनुसार आफूहरुले कदम चाल्ने बताउनुभएको थियो ।
कुनै एक पक्षलाई जोखिममा राखेर काम गर्नेभन्दापनि दुवैतर्फ क्षती हुन नदिनेगरी आगामी कार्यक्रम गर्न प्रतिवद्ध रहेको बताउनुभएको थियो । टोलीले गैँडाकोट ७, ९ तर्फको भाग र भरतपुर महानगरपालिकाको वडानम्वर १६ को सानोगढी क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।