आज बसन्त पञ्चमी । माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–अर्चना गरेर यो पर्व मनाउने गरिन्छ ।
यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा लिने गरिन्छ ।
सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।
ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रङ्ग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।
सरस्वती पूजाकै दिन बालबालिकाहरुको शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन पनि छ । संगीत प्रशिक्षणको सुरुवात यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ ।