ज्ञानु पंगेनी ,कावासोती ।
कृषि ज्ञान केन्द्र नवलपुर मार्फत् सञ्चालित कार्यक्रमहरुको अनुगमन गरिएको छ ।
ज्ञान केन्द्र मार्फत् नवलपुमा सञ्चालन गरिएको धान ब्लक कार्यक्रमको बुधबार अनुगमन गरिएको हो । नवलपुरमा कावासोती वडा नं. १४ , १७ र गैंडाकोट नगरपालिका वडा नं. ११ मा धान ब्लक कार्यक्रम संञ्चालनमा रहेको छ । कावासोती नगरपालिकामा १४ र १७ नं. वडामा धान ब्लक कार्यक्रम अन्तरगत भएका कामहरुको अनुगमन गरिएको हो । कावासोतीमा धान ब्लक कार्यक्रम मार्फत् चैते धान खेतिमा किसानले यसपटक नयाँ जातको धान लगाएका छन् । अघिल्ला वर्षहरुमा केही रैथाने , हर्दिनाथ , चैते चार लगायतका जातको धान खेति गर्दै आएका यहाँका किसानले यस पटक चैते पाँच जातको धान लगाएका हुन् । अनुगमनका क्रममा पहिलो पटक लगाएको चैते पाँच जातको धान खेति राम्रो भएको किसानले बताएका छन् । नयाँ जातको धान लगाउँदा राम्रो हुँदैन कि भन्ने सोचेका किसानले धान राम्रो उत्पादन भएपछि खुसी लागेको बताएका छन् ।
किसानले धान उत्पादन भएर स्याहर्ने बेलामा विगत दुई वर्षदेखि गाह्रो भएको गुनासो समेत गरेका छन् । यसवर्ष समेत अहिले धान स्याहार्ने बेला भएको छ । तर , वर्षा भएकाले धान स्याहार्न गाह्रो भएको किसान टिका महतोले गुनासो गर्नुभयो । कतिपय किसानले काटेको धान भिजेको उहाँले बताउनुभयो । धान काट्न मेसिन (रिपर ) लगाउन तयारी रहेको बेलामा पानी परेपछि जमिन चिसो भएर मेसिन धासिएर हातैले काट्नुपर्ने अवस्था आएको समेत उहाँले गुनासो गर्नभयो । यस्तै चैते धान खेति राम्रो भएको पनि बजार नहुँदा किसान मर्कामा परेको उहाँले गुनासो गर्नुभयो । यहाँका अधिकाशं किसानलाई वर्षे धान खेतिले घरमा खान पुग्ने र हिउँदे धान बिक्रि गर्ने गरेकाले सोँचे अनुसारको बजार नपाउँदा निराश बन्नपर्ने उहाँले बताउनुभयो । महतोले सम्बन्धित निकायले बजारको उचित व्यवस्थापन गर्दिएमा किसानलाई राहत हुनेमा जोड दिनुभयो ।
यस्तै कूलो, नहर लगायतका पूर्वाधारको समेत अनुगमन गरिएको थियो । ज्ञान केन्द्रले को सहयोगमा बोरिङ निर्माण , कूलो निर्माण समेत भएके छ । कावासोती १४ मा मात्रै सिंचाईका विभिन्न पूर्वाधारमा किसानको समेत सहभागितामा करीब ३७ लाख बराबरको लगानी भएको ज्ञान केन्द्रका प्रमुख गोपाल प्रसाद लामिछानेले जानकारी दिनुभयो । यहाँ धान खेति संगै तरकारी खेति पनि राम्रो हुने गरेको छ । किसानले अन्य समयमा तरकारी खेति समेत गर्ने गर्दछन् । खेति गर्न सिंचाईको माग किसानले गरेकाले ज्ञान केन्द्रले सहयोग गरेको लामिछानेले बताउनुभयो ।
ज्ञान केन्द्रले धान ब्लक कार्यक्रम सञ्चान गरेपछि अहिले यहाँ धानको क्षेत्र बिस्तार भएको ज्ञान केन्द्रकी बाली संरक्षण अधिकृत मिरा चौधरीले बताउनुभयो । यस कार्यक्रम सुरु हुनु अघि यहाँका किसानले करीब ४ सय हेक्टर क्षेत्रफलमा धान खेति गर्दै आएका थिए । अहिले ब्लक कार्यक्रम सञ्चालनपछि करीब ३ सय हेक्टर क्षेत्रफल बिस्तार भएको चौधरीको भनाई छ । अहिले ७ सय हेक्टर क्षेत्रफलमा धान खेति गरिएको उहाँले बताउनुभयो । ब्लक कार्यक्रम अन्तरगत किसानलाई कूलो, नहर लगायतका पूर्वाधार निर्माण , यान्त्रीकरण र बीउबीजन तथा प्राविधिक ज्ञान प्रदान गर्ने गरेको उहाँले बताउनुभयो ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल, प्रधानमत्तनी कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन इकाई नवलुरका प्रमुख वरिष्ठ बाली विकास अधिकृत विष्णु प्रसाद शर्मा , ज्ञान केन्द्र प्रमुख गोपाल प्रसाद लामिछाने , ज्ञान केन्द्रकी बाली संरक्षण अधिकृत मिरा चौधरी , भेटेनरी तथा पशु सेवा विज्ञ नवलपुरका प्रमुख ऋषब गुरागाईं , कावासोती कृषि शाखा प्रमुख टेकराज पौडेल लगायतको सहभागितामा अनुगमन भएको हो ।
अनुगमनपछि बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले किसानले राम्रो गरेको पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा धेरै समस्या र चुनौती रहेकोले त्यस्ता समस्याको सामना गर्दै अघि बढ्नुपर्नेम जोड दिनुभयो । उहाँले वर्षाको समयमा देखिने मल र बीउबीजनको मुख्य समस्यालाई समयमै निदान गर्न सुझाव समेत दिनुभयो । उहाँले किसानलाई कुनै समस्या परेमा आफु र प्रशासनबाट समाधान गर्न पहल गर्ने समेत बताउनुभयो ।