दयाराम आचार्य ।
अविरल वर्षाका कारण झरेको पहिरोको कारण नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध भएको छ । नवलपुरको दलदले –कुमसोत – पोखरी हुँदै पहाडी गाउँपालिका बौदिकाली र बुलिङटार जाने बाटो पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।
कुमसोत – पोखरी खण्ड अन्र्तगत हुप्सेकोट गाउँपालिका –५, पाङ्गे्रमा पहिरो खसेका कारण बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो । पानी परिरहेको र पहिरो झर्ने क्रम समेत नरोकिएकाले तत्काल यो सडकखण्ड सुचारु हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । जिल्लाको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिका लाई सदरमुकामसँग जोड्ने सडक पहिराले अवरुद्ध भएपछि दुई गाउँपालिकाको सदरमुकामसँग को यातायात सम्पर्क टुटेको छ । पहाडी गाउँपालिका जोड्ने यो सडक खण्डको स्तरोन्नति हुन नसक्दा वर्षाको समयमा पहाडी क्षेत्रको यातायात सम्पर्क सदरमुकामसँग टुट्ने गर्दछ । पाङ्गे्र सहित पोखरी–डेढगाउँ र पोखरी – बुलिङखण्डमा समेत यातायात सञ्चालन कठिन रहेको छ । अन्य स्थानमा समेत ठाउँ ठाउँमा साना साना पहिरो झेरको छ ।
यसैगरी पहाडी क्षेत्रको वैकल्पिक मार्गका रुपमा रहेको कालिगण्डकी करिडोर समेत अवरुद्ध भएको छ । गैंडाकोट देखी बुलिङटार हुदै डेढगाउँलाई जोडेको कालिगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो र यस खण्डमा पर्ने खोलाहरूमा आएको बाढीका कारण कालिगण्डकी करिडोर अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक पाठकले बताउनुभयो । दुवै तर्फका सडक तत्काल पूर्ण रुपमा सञ्चालनमा आउन सक्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमान – खैरेनीटार – मुग्लिन –नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता सिर्जना भएको छ । यता पूर्व पश्चिम राजमार्ग अन्र्तगत दाउन्नेमा पहिराका कारण राजमार्ग अवरुद्ध हुँदा एकतर्फी रुपमा यातायात सञ्चालनमा रहेको छ । पहिरो पन्छाउने काम चलिरहेको र राजमार्ग पूर्ण रुपमा सुचारु हुने समय लाग्ने प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो ।
यो समाचार नवलपुर प्रेसमा छ ।