काठमाडौँ –
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा पार्टी पदाधिकारी बैठक सुरु भएको छ ।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएका कारण महामन्त्री थापाले पदाधिकारी बैठकको अध्यक्षता गरेका हुन् ।
सभापति देउवा कार्यव्यस्तताका कारण अनुपस्थित रहेको र दुई जना महामन्त्रीमध्ये पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण र अर्का उपसभापति धनराज गुरुङ अष्ट्रेलियामा रहेका कारण बैठकमा उपस्थित हुन नसकेको बताइएको छ ।
बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार कांग्रेसको पदाधिकारी बैठक बसेको हो।
आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दैछ । त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बसेको हो ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । सो बैठकले २२ दिने चुनावी अभियान र दुई दिने जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
कांग्रेसमा सिट बाँडफाँड विषय निकै पेचिलो बनेको छ । एक सय ६५ मध्ये करिब एक सय सिट आफूलाई राख्न सभापति शेरबहादुर देउवामाथि ठूलो दबाब छ । तर, गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमोले कांग्रेस उदार भएर प्रस्तुत हुनुपर्ने बताउँदै आएका छन् ।
सिट बाँडफाँडसम्बन्धी कार्यदलको संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक तोकिएका छन् ।