कावासोती ।
धानबालीका लागि प्रयोग गर्न पर्याप्त मल नपाउँदा कृषक चिन्तित बनेका छन् । धान खेती गरेका किसानले आवश्यक मात्रामा मल नपाएपछि धान उत्पादनमा कमी आउने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘धानमा युरिया नहाले उत्पादननै नहुने अवस्था छ, तीन दिनमा १२.५ केजी मल प्राप्त भयो, डेढ बिघा जग्गामा यो मल कतिलाई पुर्याउने ’कावासोती –१२, का कृषक छविलाल काफ्ले भन्नुभयो । यति मलले आधा समस्या समेत समस्या नहुने उहाँले बताउनुभयो । एउटा ५० केजिको बोरा चार जनाले बाडेर लिएको उहाँले बताउनुभयो । ‘बोरा लिँदा पालो चाडो आउने भएपछि चार जना मिलेर एक बोरा लिएको हो, नत्र झन पालो आउदैन ’ १५ केजिलाई कति पर्खनु’ काफ्ले भन्नुभयो ।
पर्याप्त पानी नपर्दा चिन्तित बनेका किसान आवश्यक मात्रामा मल समेत प्राप्त नहुँदा यसपालि उत्पादनमा धेरै कमी आउने होकि भनी चिन्ता व्यक्त गरेका छन् । ‘बल्लतल्ल धान रोपियो, पर्याप्त पानी नपर्दा एउटा समस्या छ, यता आवश्यक मल नपाउँदा अर्को समस्या थपिएको छ, यसरी लगाएको धान कति फल्ला खै’ कृषक काफ्लेले भन्नुभयो – सरकारले कृषकका समस्या समाधानमा समेत ध्यान दिनुपर्यो । ‘किसानले समयमा विऊ , मल पाउदैन , हरेक वर्ष यस्तै समस्या छ, किसान निरिह बनेको छ, सरकार समस्या समाधानमा ठोस पहल गर्दैन’ कावासोती , पिठौलीका कृषक प्रकाश पौडेलले भन्नुभयो– यसरी कृषको जिन्दगी कसरी चल्छ । मल आवश्यक पर्ने हरेक समयमा अभाव झेल्नुपरेको अर्का किसान रामुदेव पोख्रेलले गुनासो गर्नुभयो । यहाँ रहेको सहकारीबाट जनही बढिमा १५ केजीका दरले युरिया मल बितरण गरेको भएपनि यसले समस्या समाधान नहुने उहाँले बताउनुभयो । ‘१५ केजी मल दिएको छ, यो कति खेतलाई पुर्याउने , कहाँ छर्ने, निल्नु न ओकल्नु भनेझैँ भाछ ।
पाएको मल नलगेरपनि भएन’ पोख्रेलले भन्नुभयो –यहि मल लिन पनि तीन दिन धाउनुपर्यो । नवलपुरमा धानबालीका लागि हाल आवश्यक पर्ने मलको आधा माग पुरा हुने गरि मल आएको कृषि सामाग्री कम्पनी लिमिटेड नवलपुर शाखाका निमित्त शाखा प्रबन्धक सोभा न्यौपानेले बताउनुभयो । नवलपुरमा हाल २ सय २४ मेट्रिक टन अर्थात ४ हजार ४८० बोरा मल आएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अहिले धानबालीका लागि मात्रै कम्तिमा करिब ५ सय मेट्रिक टन मल आएको भए समस्या तत्काल समस्या समाधान हुने थियो । तर मागको आधा मात्रामा मल आउँदा कृषकलाई पुर्याउन समस्या हुने गरको उहाँले बताउनुभयो ।
जिल्लामा आएको मल हाल ५८ वटा सहकारी तथा एग्रोभेटबाट वितरणको व्यवस्था गरिएको छ । नवलपुरको गैँडाकोटमा भने अहिले मल वितरणमा समस्या भएको छ । त्यहाँ रहेका कति सहकारी तथा एग्रोभेटले कसरी मल बितरण गर्ने भन्ने अन्योल भएकाले मल बितरण हुन सकेको छैन् । त्यस बाहेक नवलपुरका सातवटै पालिकामा रहेका तोकिएका सहकारी तथा एग्रोभेटबाट मल वितरणको प्रबन्ध गरिएको निमित्त शाखा प्रबन्धक न्यौपानेले बताउनुभयो । माग भन्दा कम मल आएपनि तत्काल केही समस्या समाधान हुने उहाँको भनाई रहेको छ । तर पर्याप्त भने नहुने उहाँले बताउनुभयो । ‘अहिले आएको मलले केही समस्या त समाधान होला तर पर्याप्त भने हुदैन ’ कृषि सामाग्री कम्पनी लिमिटेड नवलपुरका निमित्त शाखा प्रबन्धक न्यौपानेले भन्नुभयो । नवलपुरमा १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाउने गरिन्छ ।
यो समाचार नवलपुर प्रेसमा दयराम आचार्यले लेखेका छन ।