नवलपुर ।
विजया दशमी , तिहार , छठ लगायतका पर्व लक्षित गरि नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको कावासोती, गैंडाकोट, डण्डा र दुम्किबास गरि चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले जानकारी दिनुभयो । चाडपर्वको समयमा यात्रुहरूको चाँप बढ्ने हुँदा यो समयमा यात्रुहरूलाई पर्ने समस्यामा तत्काल सहायता गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।
चाड पर्वको समयमा यात्रुलाई बसमा यात्रा गर्दा हुने बिभिन्न समस्या समाधानका साथै यात्रु बाहक बसको नियमनका लागि यात्रु सहायता कक्ष प्रभावकारी हुने विश्वास लिइएको सूचना अधिकारी पुरीले बताउनुभयो । ‘ यात्रुहरु बस नपाएर अलपत्र नपरून् र बसले जथाभावी यात्रुलाई चढाएर दुख पनि नदिऊन् भनेर यात्रु साहयता कक्ष स्थापना गरेका हौं’ सूचना अधिकारी पुरीले भन्नुभयो ‘ तिब्र गतिमा सवारी चलाउने प्रतिस्पर्धा पनि हुन्छ, यसलाई समेत नियमन गर्नेछौ ।’ सहायता कक्षमा खटिएको टोलीले यात्रुबाट बढी भाडा लिएर ठग्ने , राम्रो सिट मिलाइदिन्छु भन्दै यात्रुलाई जथाभावी राख्ने जस्ता कार्यको नियन्त्रण गर्नेछन् । चाडपर्वको समयमा यात्रुहरूलाई ठग्ने देखी दुर्व्यवहार गर्ने गरको गुनासो आउने हुँदा यसको नियन्त्रण तथा नियमनका लागि यात्रु साहयता कक्ष सहयोगी बन्ने उहाँले बताउनुभयो । यात्रुहरूको बढी चाप हुने चार स्थानको छनौट गरि यात्रु सहायता कक्ष स्थापना गरिएको सूचना अधिकारी पुरीले जानकारी दिनुभयो ।
सहायता कक्षबाट यात्रु बसको नियमित रुपमा अनुगमन गरिने र भाडादर धेरै लिने, सिट भन्दा धेरै यात्रु राख्ने जस्ता नियम विपरितका कार्य गरेमा त्यस्ता सवारीलाई तत्काल कारबाही गरिने उहाँले बताउनुभयो । सूचना अधिकारी पुरीले भन्नुभयो ‘कक्षबाट नियमित अनुगमन गर्छौ ,यात्रुका कुनै गुनासो आएभने त्यसको समाधानका लागि पहल गर्ने काम समेत गर्ने छौ ।’
यात्रुहरू बढी आवत जावत गर्ने समय बिहान ६ बजे देखी साँझ ६ यात्रु सहायता कक्षबाट यात्रुहरूलाई सेवा प्रदान गरिने छ । हाल जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको भएपनि जिल्लाको दाउन्ने क्षेत्रमा समेत सहायता कक्ष स्थापनाको योजना रहेको सूचना अधिकारी पुरीले बताउनुभयो ।
यो समाचार नवलपुर प्रेसमा दयाराम आचार्यले लेखेका छन ।