बिबेक भण्डारी
राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरु मौरी पालनमा आकर्षित भएका छन् । मौरीपालन गर्न युवाका लागि केन्द्र, प्रदेश र पालिकाहरुले अनुदान प्रदान गरेकाले पनि युवा मौरीपालनमा लागेका हुन । मौरीपालनले नवलपुरका युवाहरुलाई विदेशमा मात्र होइन स्वदेशमा पनि सजिलै पैसा कमाउन सकिन्छ भन्ने पाठ सिकाएको छ । स्वदेशमा आर्थिक आयआर्जनको स्रोत नदेखेका युवा अहिले स्वदेशमै मनग्य आम्दानी हुँदा दंग परेका छन् । जिल्लाको गैडाकोट, देवचुली, कावासोतीका युवाहरुले कृषि पेशा अन्तरगत मौरीपालनमा चासो दिन थालेका छन् ।

मौरीपालनमा लाग्न युवाका लागि केन्द्र, प्रदेश र पालिकाहरुले आकर्षक अनुदान प्रदान गरेकाले पनि युवा मौरीपालनमा लागेका हुन । देवचुली नगरपालिका– ९ का चन्द्रबहादुर थापालाई पहिले मौरीपालनबाट के नै आम्दानी होला र जस्तो लागेको थियो तर मौरीपालन गरेर यसबाट आम्दानी हुने देखेर मौरीपालनमा लागेको बताउँछन् ।

चन्द्रबहादुर जस्तै यहाँका धेरै युवा मौरीपालन गर्ने र पकेट क्षेत्रसंगै ब्लक क्षेत्र बनाउने योजनामा छन् । देवचुली नगरपालिकाकै राजेन्द्र रावलले प्रदेशको अनुदानमा मह प्रसोधन केन्द्रनै स्थापना गरेका छन् । मौरीपालन गर्न युवाहरुले सामुदायिक वनसँग साझेदारी गरि घार व्यवस्थापन गर्ने गरेका छन् । नवलपुरमा मात्र वार्षिक ३० टन मह उत्पादन र खपत हुने गरेको छ । जिल्लामा उत्पादन भएको महको खपत राम्रो हुने हुँदा अहिले विशेष गरि युवाहरु मौरीपालनमा बढी आकर्षित भएको नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष यदु कँडेलले बताउनु भयो ।

कोभिड– १९ कारण बेरोजगार भएका र रोजगारको कुनै स्रोत नभएकाहरु मौरीपालन गर्न चाहन्छन् भने उनीहरुलाई मौरीपालन गर्न अनुदान दिने गरेको अध्यक्ष कँडेलले बताउनु भयो । आम्दानीको स्रोत छैन भन्दै विदेश जानेहरुका लागि नवलपुरका युवाहरु उदाहरणको पात्र बनेका छन् । आँट र जाँगर चलाउने हो भने स्वदेशमै आम्दानीका बाटाहरु धेरै छन् भनेर उनीहरुले देखाएका छन् ।