६ महिनामा २ सय ५७ वटा नयाँ उद्योग थपिए

शिक्षा

दयाराम आचार्य

नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा चालु आर्थिक वर्षको ६ महिनामा २ सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासी पूर्व नवलपुरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा २ सय ५७ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालका अनुसार नयाँ थपिएका उद्योगहरूमा कृषि तथा वन वातावरण , पर्यटन र सेवामूलक साना उद्योग धेरै दर्ता भएका छन् । नवलपुर कृषि र पर्यटनको सम्भावना भएको जिल्ला भएकाले यसतर्फ नयाँ उद्योग दर्ता हुने क्रम बढेको छ । राज्यले कृषिमा दिने अनुदान सहयोगका कारण समेत यस्ता खालका उद्योग दर्ताको क्रम बढेको हुन सक्ने कार्यालय प्रमुख खनालले बताउनुभयो । ‘यहाँ कृषि , पर्यटन र सेवा मूलक उद्योगहरू दर्ताको क्रम धेरै छ, सायद जिल्ला यसका लागि अनकुल भएर हुन सक्छ, साथै कृषितर्फ राज्यले दिने अनुदान सहयोगका कारण समेत आकर्षण भएको हुन सक्छ’ कार्यालय प्रमुख खनालले भन्नुभयो ।

वाणिज्य तर्फ भने नवलपुरमा ३ सय ६८ वटा नयाँ व्यवसाय थप भएका छन् । ६ महिनाको अवधिमा यो सङ्ख्यामा नयाँ वाणिज्य दर्ता भएको कार्यालय प्रमुख खनालले बताउनुभयो ।

नवलपुरमा उद्योग तथा वाणिज्यको कुल संख्या १५ हजार २ सय ५० पुगेको छ । चालु आर्थिक वर्षमा थपिएका नयाँ उद्योग तथा वाणिज्यको संख्या जोड्दा यो मात्रामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग तथा वाणिज्य नवलपुरमा रहेका पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख खनालले बताउनुभयो ।
जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग तथा वाणिज्य राजमार्गमा जोडिएका पालिकामा नयाँ थपिने क्रम धेरै रहेको छ । त्यसको तुलनामा पहाडी क्षेत्रमा भने निक्कै कम मात्रमा उद्योग तथा वाणिज्य थपिने क्रम रहेको छ । जिल्लाको सदरमुकाम कावासोती सहित देवचुली, गैँडाकोट र मध्यविन्दुमा नयाँ उद्योग तथा वाणिज्य दर्ता हुने क्रम धेरै रहेको छ ।
यसै बिच उद्योग तथा पर्यटन कार्यालयले चालु आर्थिक वर्षमा थपिएका नयाँ उद्योग तथा वाणिज्य दर्ताबाट रु. ४० लाख ६ हजार राजश्व संकलन गरेको छ । जसमध्ये उद्योग दर्ताबाट रु. १८ लाख ८८ हजार ६२५ र वाणिज्य दर्ताबाट रु. २१ लाख १७ हजार ४५० राजश्व संकलन भएको कार्यालय प्रमुख खनालले बताउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर